बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

१० साउन, काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउन सक्ने विपत्तिबारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ ।

प्राकृतिक विपद्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ ।

अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । उक्त सर्च गाइडमार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपत् सूचना पोर्टल, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्रयाजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ ।

मानिसले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन सकून् भन्ने उद्देश्यका साथ सुरक्षित र उत्तरदायी प्लेटफर्म निर्माण गर्ने प्रतिबद्धता पनि टिकटकले निरन्तर कायम राखेको जनाइएको छ ।