
१० साउन, सिन्धुपाल्चोक । मापदण्ड विपरीत र अनुमति नलिई सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकमा प्रशासनले सिलबन्दी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय र सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रालिमा सिल गरिएको जनाएको हो ।
अनुगमन क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको र अनधिकृत ल्याब तथा एक्सरे सेवा सञ्चालन गरिरहेको पाइएको टोलीले उल्लेख गरेको छ ।
यसैबीच, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले पनि प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । कानुनी प्रक्रियामा नआउने र जनस्वास्थ्यमाथि खेलबाड गर्ने जुनसुकै स्वास्थ्य संस्थालाई नछाड्ने मन्त्रालयले चेतावनी दिएको छ ।
