संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’

१२ साउन, काठमाडौं ।मुस्ताङस्थित लक्जरी होटल ‘शिन्तामणि मुस्ताङ’ संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो स्थानमा सूचीकृत भएको छ ।

सन् २०२६ का लागि रब रिपोर्टस्‌ले तयार पारेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीको पहिलो नम्बरमा शिन्तामणि परेको हो ।

संसारका प्रमुख २४ ट्राभल अगुवाको प्यानलले शिन्तामणिलाई पहिलो नम्बरमा सूचीकृत गरेको हो । तल्लो मुस्ताङमा रहेको शिन्तामणि बिल बेन्स्लेले डिजाइन गरेका हुन् ।

यती समूहको शेर्पा हस्पिटालिटी ग्रुपले विगत ३ वर्ष देखि शिन्तामणि सञ्चालन गर्दै आएको छ ।शिन्तामणि सम्भवतस् नेपालकै सबैभन्दा महँगोमध्ये पर्छ । यो होटलमा २९ कोठा छन् । यसमा बास बस्न स्वदेशी वा विदेशी जो भए पनि कम्तीमा पाँच दिनसम्मको बुकिङ गर्नुपर्छ ।

शिन्तामणिमा बास बस्ने रातको न्यूनतम १ हजार ८०० अमेरिकी डलर भाडा तिर्नुपर्छ । दुई जनाका लागि बनाइएको यो प्याकेजमा कोठा, वेलनेस प्रोग्राम, खाना र पेय उपलब्ध गराइएको रिसोर्टले जनाएको छ ।

रब रिपोर्टको यो सूचीको दोस्रो स्थानमा र्‍वान्डाको सिंगिटा क्विटोन्डा, तेस्रोमा स्कटल्यान्डको होप लज, चौथो जापानको पार्क ह्यात टोक्यो, पाँचौं भारतको शक्ति प्राण, छैटौं इटालीको कोलेजियो एल्ला क्वेर्स, सातौं बेलायतको क्याल्रिजेज, आठौं फ्रान्सको ले ब्रिस्टल पेरिस, नवौं पनामाको आइसल्यास सेकार र दसौं स्थानमा माल्टाको कासा बोनाभिटा परेको छ ।