मौसम पूर्वानुमान : केही प्रदेशमा भारी वर्षाको जोखिम

१८ साउन,काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक सरिसकेको छ।

यसकै कारण देशभर साधारणतया बदली भएको छ।कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा जारी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार दिनभर देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ।

पहाडी भू–भागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ ।

यसैगरी बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा पानी पर्नेछ।मधेस प्रदेशका साथै कोशी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ।