आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो।जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए।

अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो ।

अहिले देशभरि ग्यास नपाएर उपभोक्ता मारमा छन् ।भने,पेट्रोलियम पदार्थको चर्का मुल्यबृद्धिको मारमा पनि नागरिक छन् ।यसको तत्काल समाधान गर्नुपर्ने जिम्मेवारी उनीसामु टड्कारो छ ।