व्यावसायिक संस्था लाई राजनीतिबाट टाढा राख्नुपर्छ,भैरहवा र पोखरा विमानस्थल छिट्टै सञ्चालनमा ल्याउँदैछौं : सभामुख अर्याल

२९ साउन, काठमाडौं ।सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि हुन नहुने बताएका छन् ।

आज शुक्रबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यावसायिक संस्था नाट्टालाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने आवश्यकता औँल्याए ।

‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ’ सभामुख अर्यालले भने ।

पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै उनले हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण सृजना गर्नु पर्नेमा जाड दिए ।

व्यवसायीको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने भन्दै उनले विदेशी र स्वदेशी पर्यटकलाई समान रुपमा नै सम्मानजनक व्यवहार गर्नु जरुरी भएको बताए ।

यस्तै सो समारोहमा सभामुख अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताए ।यसका लागि सरकारले घनिभूत छलफल गरिरहेको पनि उनले स्पष्ट पारे ।उनले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

सभामुख अर्यालले भने, ‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनिभूत छलफल भइरहेको छ । मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रूपमा सञ्चालन हुनेछ ।’

‘निजगढ विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र यसबारेमा आवश्यक बहस अगाडि बढिरहेको छ ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको उच्चतम सदुपयोग गरि नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न विशेष पहल गर्नुपर्ने समेत बताए ।

वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक म्यान्डेट पाएको दाबी गर्दै उनले पर्यटन मात्र नभई उत्पादन,आयात–निर्यात र सुशासनका क्षेत्रमा समेत सुधार ल्याइने विश्वास व्यक्त गरे ।

‘अबको सरकार असफल हुने छुट छैन ।अब नेपाल समृद्ध बनाउनैपर्छ । पर्यटन मात्र होइन, उद्योग,उत्पादन, आयात–निर्यातलगायत सबै क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्छ । सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियान सरकारले शुरु गरेको छ, यसमा हामी सबैको साथ आवश्यक छ ।’ उनले भने ।