भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज

२१ भदौं,काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी राखिएको राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना ‘डिस्चार्ज’ भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइते ५० जनालाई राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो।

हाल १२ जना घाइतेको उपचार भइरहेको छ।अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ।

सरकारले उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ ।सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई सहयोग लगायतकका विषय सरकारको पहिलो प्राथमिकतामा रहेको छ ।