
२६ असोज,काठमाडौं । आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ।
आइतबार नवरात्रको पहिलो दिन दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । नौ दुर्गामध्येकी देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
