
२६ असोज, काठमाडौं ।बूढीगण्डकी नदीमा आइतबार आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली भागमा गएको भीषण हिमपहिरो वा चट्टानी पहिरो रहेको पाइएको छ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार माथिल्लो तटीय क्षेत्रमा गएको पहिरोका कारण नदीमा लेदोसहितको बाढी आएको हो।
केन्द्रको भौगोलिक तथा भौगर्भिक भू (उपग्रह (स्याटेलाइट) विश्लेषण अनुसार अक्टोबर ६ सम्म सामान्य हिउँ र चट्टान मात्र देखिएको क्षेत्रमा अक्टोबर १० मा व्यापक नयाँ हिमपात भएको थियो। सोही उच्च हिमशिखरबाट सुरु भएको ठूलो हिमपहिरोले तीव्र गतिमा ठाडो खोँच हुँदै बाटोका वनस्पति र माटो बगाएर ल्याएको प्रतिवेदनमा उल्लेख छ।
उच्च भागबाट बगेर आएको गेग्रान चुम्लिङ र रिप्चेत नजिकैको मुख्य दोभानमा पुगेर थुप्रिँदा नदीको प्राकृतिक बहाव केही समयका लागि अवरुद्ध हुन पुगेको थियो। तल्लो उपत्यकामा बनेको सोही गेग्रानको थुप्रो फुटेपछि बूढीगण्डकीमा ठूलो बाढी आएको केन्द्रको निष्कर्ष छ।
