
सीता पौडेल(अर्चना)
काठमाडौं ।नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१ र विश्व प्रेस स्वतनत्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ ।
महासंघले आज शुक्रबार काठमाडौंको रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गर्न लागेको नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभएको छ ।अध्यक्ष सुवेदीले सो प्रभातफेरीमा सहभागी हुन सम्पूर्ण पत्रकार,शुभेच्छुक र सरोकारवालाहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
शान्ति बाटिकामा बिहान ६ः३० बजे जम्मा भएर प्रभातफेरीलाई सफल पार्न पनि महासंघले अनुरोध गरेको छ। शान्ति बाटिकाबाट प्रभातफेरि शुरु गरेर भृकुटीमण्डपको प्रदर्शनि मार्गमा अवस्थित महाधिवेशन स्थल ‘राष्ट्रिय सभागृह’मा जाने कार्यतालिका बनेको महासंघका जिल्ला शाखा कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर गर्न लागिएको यस महाधिवेशन बुद्धको जम्मस्थल पवित्र भूमि लुम्बिनिमा गर्ने भनिए पनि मौसम र विभिन्न प्राविधिक समस्याका कारण काठमाडौंमा गर्ने निर्णय भएबमोजिक सो महाधिवेशन हुन लागेको हो ।महासंघले यस अघि गत वर्ष चैत्र ३० गते काठमाडौंको कमलादीमा अवस्थित प्रज्ञा प्रतिष्ठानको एक सभाहलमा १२ औं अधिवेशन सम्पन्न गरिसकेको छ ।
१९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारण सभाको निर्णयअनुसार प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको छ ।
महाधिवेशन भोलि शनिबार समापन हुनेछ ।
