पत्रकार महिलाको चिन्ताजनक पलायन : एक वर्षमा २९ जनाले पेशा छोडे

काठमाडौं ।प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सार्वजनिक गर्दै मिडिया एक्सन नेपालले एक वर्षमा २९ जना पत्रकार महिलाले पेशा छोडेको जनाएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले सार्वजनिक गरेको प्रतिवेदनले पत्रकार महिलाहरूले कार्यस्थलमा सामना गर्ने चुनौती र जोखिमहरूलाई उजागर गरेको छ।

प्रतिवेदनमा पत्रकारहरुले धम्की,आक्रमण र उत्पीडन समेत  खेप्नु परेको उल्लेख छ ।शारीरिक आक्रमण,मौखिक दुर्व्यवहार,गैरकानुनी गिरफ्तारी र उपकरण जफतका घटनासहितको विवरण उल्लेख छ ।उनीहरूले लैङ्गिक विभेद,यौन दुव्र्यवहार र असमान पारिश्रमिकको पनि सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

पत्रकारहरूका लागि सुरक्षित र थप समावेशी वातावरण सिर्जना गर्न सुधारको आवश्यकता देखाएको छ । प्रतिवेदनमा नेपालका मिडिया हाउसभित्र श्रम अधिकार उल्लंघन तथा श्रमशोषण भएको निष्कर्ष उल्लेख छ ।

तलब नपाउने,पाए पनि समयमा नपाउने,न्युन तलब तथा नियुक्ति नदिइकन काममा लगाउने जस्ता समस्या देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नहुँदा पत्रकारहरूले श्रम शोषण,विभेद विभेद जस्ता विविध समस्याहरुको सामना गर्न परेको प्रतिवेदनमा उल्लेख  छ ।

पत्रकारको हक अधिकारको सुरक्षा गर्न,श्रमजीवी पत्रकार ऐन लागू गर्न र कार्यस्थलमा हुने लैङ्गिक विभेदलाई सम्बोधन गर्न आवश्यक रहेको जनाइएको छ ।

प्रतिवेदनले मे,२०२३ देखि मे २०२४ सम्मको एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका ३४ वटा घटना सार्वजनिक भएको  जनाइएको छ ।