
काठमाडौं ।फ्रेन्च स्टार स्ट्राइकर केलिएन एमबाप्पेले यस सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन्।
२५ वर्षीय एमबाप्पेले आफ्नो सोसल मिडियामार्फत एक भिडियो सार्वजनिक गर्दै फ्रेन्च क्लब छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।‘मैले सधैँ भन्ने गरेको छु कि म सयम आएपछि तपाईंहरुलाई भन्नेछु’, एमबाप्पेले भने, ‘पीएसजीमा मेरो यो अन्तिम वर्ष हो।म नवीकरण गर्ने छैन र मेरो यात्रा केही सातामा समाप्त हुनेछ ।’
पीएसजीसँग एमबाप्पेको सम्झदता जुनमा सकिँदैछ । यसअघि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले फेब्रुअरीमै एमबाप्पेले रियल मड्रिडसँग सम्झौता गर्ने सहमति गरिसकेको खुलासा गरेको थियो ।
फ्रान्सबाट सन् २०१८ मा विश्वकप जितेका एमबाप्पेले पीएसजीका लागि कीर्तिमानी २५५ गोल गरेका छन् ।उनले पीएसजीका लागि घरेलु मैदान पार्क डे प्रिन्समा आइतबार अन्तिम लिग खेल खेल्दैछन् ।पेरिसमा जन्मेका एमबाप्पेल सन् २०१७ मा १६५।७ मिलियन युरोमा पीएसजीमा अनुबन्ध भएका थिए ।
पीएसजी छाडेपछि एमबाप्पे अब स्पानिस जायन्ट रियल मड्रिड जाने तयारीमा छन्।उनले त्यहाँ ५ वर्षको सम्झौता गर्ने बीबीसीले उल्लेख गरेको छ । जहाँ उनले एक सिजनमा १५ मिलियन युरो कमाइ गर्ने बताइएको छ।
