
काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेको कानूनी प्रकृयामा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि बहस गर्ने भएका छन् ।
उनी सन्दीपको पक्षबाट बहस गर्ने टीममा जोडिएका छन्।उच्च अदालतमा विचाराधीन मुद्दाका लागि यस अघि पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए।
यस्तै,वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,मुरारी सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन्।टीमको संयोजन अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन्।
जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको छ।देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।
राजनीतिज्ञ बिडारी फरक वाककलाका लागि प्रख्यात छन्।
सन्दीपको मुद्दामा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ।यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो।अहिलेसम्म एक पटक भएको सुनवाइमा सन्दीपको एक मात्रै वकिल मुरारी सापकोटाले बहस गर्ने मौका पाएका छन्।
यद्यपि पटक–पटक पेसी सरिरहेकाले तोकिएको समयमा सुनवाइ हुन्छ भन्न सकिने अवस्था नरहेको वकिलहरुले आशंका जाहेर गरेका छन् ।
गौशाला २६ का वकिलहरू भने जसरी हुन्छ मुद्दा पछाडि धकेल्ने र सकेसम्म विश्वकप पछाडिसम्म धकेल्न खोजिएको देखिएको सन्दिपका वकिलहरुको आशंका छ।पछाडि धकेल्दा परिस्थिति फेरबदल भए गौशालाका वकिलहरु आफ्ना् पक्षमा फैसला आउने ढुक्क भएको पाइएको छ ।
सन्दीपका वकिल भने मुद्दाको चाँडो किनारा लागेर सन्दीपले सफाइ पाउँदा उनी अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा भाग लिन सक्ने अवस्था रहेको हुनाले चाँडो किनारा लगाउन पर्ने बताउँदै आएका छन् ।
