जसपा नेपाल सरकारबाट बाहिरिने

 काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपालले आजै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

जसपा नेपालको केन्द्रीय समितिको बैठक आज ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा बिहान ११ बजे बस्ने र सरकारबाट बाहिरिने तथा समर्थन पनि फिर्ता लिने निर्णय गर्ने अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिएका छन्।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको आइतबार बसेको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।आज बस्ने केन्द्रीय समिति बैठकले औपचारिकरुपमा सार्वजनिक गरिने निर्णय लिने स्वकीय सचिव चौरसियाले जानकारी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिएका थिए।सो निर्देशनपछि मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीको समर्थन फिर्ता लिएको हो।

बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमासमेत छलफल हुने बताइएको छ।

गत वैशाख २३ मा उपप्रधानमन्त्री समेत रहेका यादव नेतृत्वको जसपा नेपाल फुटेर अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्ले जनता समाजवादी(जसपा) गठन गरेर निर्वाचन आयोगबाट मान्यता पनि पाइसकेका छन्।