
सीता पौडेल(अर्चना)
काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थी महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियुले आज जेठ १ गते मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सो महोत्वस गरिने जानकारी दिएको हो।१ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताएका छन्।
अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गर्न लागिएको उनको भनाई छ। अनेरास्ववियुले पत्रकारसम्मेलन लगतै बृहत मार्च पाससमेत गरेको थियो ।

अध्यक्ष बडालका अनुसार ‘नेपालमै पढ्छु,म बनाउँछु मेरो देश नेपाल’ भन्ने नाराका साथ युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेहको भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ मार्फत नयाँ जागरण ल्याउने प्रयास गर्ने उद्देश्यले महोत्वसको आयोजना गरिएको हो।
१५० भन्दा बढी शैक्षिक स्टल राखिने सो महोत्सवको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन गर्ने तयारी छ।
अध्यक्ष बडालले अनेरास्ववियुको इतिहास,लाइभ म्युजिक,प्रत्यक्ष परियोजनाहरू,करियर काउन्सिलिङ्ग,बहस र संवाद,सांस्कृतिक प्रदर्शनी,रक्तदान तथा स्वास्थ्य शिविर,फुड स्टल,ई–गेमिङ्ग प्रतियोगिता,रोबोटिक्स,पर्यटन भिजन,विश्वविद्यालयबारे जानकारी,कानुनी शिविर,लाइभ पेन्टिङ प्रतियोगिता,चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका कार्यक्रम तथा स्टलहरू महोत्सवको आकर्षणका विषय रहेको जानकारी दिएका छन्।
महोत्सवमा आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली सुधार गर्नुपर्ने विषमा गरिएका सामूहिक छलफलबाट आएका निष्कर्षसहित सरकारलाई सुझावसमेत प्रस्ताव गर्ने बताइएको छ।
महोत्सवबाट नेपालमै उत्कृष्ट र गुणस्तरीय शिक्षा रहेको र यहाँकै शिक्षाबाट केही गर्न सकिन्छ भन्ने सन्देश दिने अपेक्षा गरिएको छ।

महोत्सवमा नेपाली विद्यार्थीहरूले गरेका विज्ञान र प्रविधिसँग सम्बन्धित खोज,अनुसन्धान र नवप्रवर्तनका विषय प्रदर्शनी लगायत मनोरञ्जनका लागि जोन एण्ड दि लोकल्स,द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सांगितिक कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।
महोत्सवमा देशभरिबाट करिब एक लाख भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने आँकलन गरिएको छ ।

