फेरी थपियो पृथ्वी राजमार्गको पूर्वी खण्ड निर्माणको म्याद

तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड विस्तार अन्तर्गत पूर्वीखण्डको म्याद फेरी पाँच महिना थप गरिएको छ।

ठेक्का पाएको चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ले समयमा काम सम्पन्न नगरेपछि उसलाई समय थप गरिएको हो।कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको,रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको बताइएको छ।

अब थप गरिएको समयावधि २०८१ भदौ मसान्तसम्म रहन्छ ।

तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब ७ सय मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ।पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको उसको भनाई छ।

विसं २०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो।सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादि नदीको पुलबाहेक रु ६ अर्ब २१ करोडमा ठेक्का पाएको हो।मादी नदीमा तीन सय १५ मिटर लम्बाइको पुल निर्माण गर्न रु एक अर्ब २१ करोड लागतमा छुट्टै ठेक्का लगाइएको छ।

पश्चिम खण्डअन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमामा करिब २० किलोमिटर खण्डमा ६ लेन रहने गरी ४६ मिटर रु ७ अर्ब ४० करोड ४६ लाखको लागतमा निर्माण गर्न २०७८ जेठमा ठेक्का सम्झौता चिनियाँ ठेकेदार कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजसँग भएको छ।

एसियाली विकास बैंक(एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा सो सडकखण्ड विस्तारको काम भइरहेको जनाइएको छ।