दमौलीको मुख्यचोकका २० वटा सटरमा आगलागी

तनहुँ।तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति आगलागी भएको छ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन्।

आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ।तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रायले बताए।

चार वटा दमकल,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहानपख आगलागी नियन्त्रण भएको उनले जानकारी दिए।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका भाडाका ती सटरमा विभिन्न पसल सञ्चालनमा थिए।