आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिदैं छन्।नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका हुन्। 

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।यसका लागि प्रस्ताव प्रतिनिधिसभामा कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था रहेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन्।

सङ्घीय ससद्को बर्खे अधिवेशन सुरु भइसकेको छ।भने,संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ ।भने,जेठ १५ गते बजेट प्रस्तुत हुँदैछ।