
काठमाडौं । सहकारी पीडितहरुले आफूहरुको साढे दुई खर्ब बचत फिर्ता गर्न माग गर्दै आएका छन् । पीडितहरुले रकम फिर्ता गर्न माग गर्दै आज तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
यसअघि भएका सम्झौताहरूको कार्यान्वयन नभएको भन्दै पीडितहरूले भोलिबाट रिले अनसन लगायतका कार्यक्रम सहित आन्दोलनको तयारी गरेका छन् ।
शुक्रबार काठमाडौं माइतिघर मण्डलाबाट प्रर्दशन गर्ने र साँझदेखि माग पुरा नहुन्जेलसम्म रिले अनसन बस्ने उनीहरुले बताएका छन्।
सोही दिन चितवन, विराटनगर, इटहरी र धरान लगायतका मुलुकका विभिन्न स्थानबाट समेत आन्दोलनको समर्थनमा पीडितहरूले र्याली निकाल्ने उनीहरुको तयारी छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले समर्थन गर्दै यसअघिदेखि आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्।
महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ।
यसअघि गत चैत आठ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पीडितहरूबीच समस्या समाधानको लागि सहमति भएको थियो।
