सिद्धबाबा सुरुङ मार्ग : जेठ १३ गतेदेखि बिस्फोट गराइने

बुटवल । सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि यही जेठ १३ गतेदेखि विस्फोट गराउन सुरु गरिने भएको छ ।

आयोजनाले जेठ २ गते जिल्ला सुरक्षा समिति रुपन्देही र जेठ १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय गरेको थियो । सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ ।

एक सुचना जारी गर्दै नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने जानकारी दिइएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ ।

आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ ।

मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङमार्गको लम्बाई एक हजार १२६ मिटर हुनेछ ।