काठमाडौं । विश्वमा मृत्युदण्डको घटना बढ्न थालेका छन् । एम्नेस्टी इन्टरनेशनलको तथ्याङ्कअनुसार सन् २०२३ मा २०२२ को तुलनामा ३२ प्रतिशतले मृत्युदण्ड बढेको पाइएको हो।
चीनमा सबैभन्दा बढी मृत्युदण्ड दिइने एम्नेस्टीको भनाइ छ। तर चीनमा मृत्युदण्डको सजायको आधिकारिक तथ्यांक छैन। एम्नेस्टीले गत वर्ष चीनमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिइएको अनुमान गरेको छ ।
सन् २०२३ मा ११५३ मृत्युदण्डका घटना भएकामा २०२२ मा ८८३ थिए । एम्नेस्टी इन्टरनेशनलले सन् २०१५ यता रेकर्ड गरेको यो सबैभन्दा ठूलो संख्या हो। सन् २०१५ मा १६३४ वटा मृत्युदण्ड दिइएका थिए ।
एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस कालामार्डका अनुसार सबैभन्दा धेरै मृत्युदण्डको सजाय इरानमा दिइएका छन् । इरानमा लागुऔषधको मुद्दाका दोषीलाई मृत्युदण्ड दिने गरिएको छ । त्यहाँ ८५३ जनालाई मृत्युदण्ड दिइएको छ ।
एम्नेस्टीका अनुसार सन् २०२३ मा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिका गरी पाँच देशमा सबैभन्दा बढी मृत्युदण्ड दिइएको थियो ।
