तनहुँ । तनहुँमा हावाहुरी र असिना पानीका कारण तीन सयभन्दा बढी घर गोठमा क्षति पुगेको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार हावाहुरीले करिब तीन सय ३३ घर–गोठमा क्षति पुगेको छ भने विद्यालय लगायतका संरचनामा क्षति पुगेको छ ।
आफूहरुसँग क्षतिको यकिन तथ्यांक भने नभएको उनले बताए । क्षति पुगेको केही स्थानमा प्रहरीले तथ्यांक संकलन गरिरहेको उनले जानकारी दिए । प्रजिअका अनुसार हावाहुरीका कारण जिल्लाको व्यास नगरपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ ।
उनी थप्छन्, ‘हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको छ ।’ हावाहुरीले मानवीय क्षति भने नभएको उनले बताए ।
चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए । हावाहुरीसँगै आएको असिनापानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पुर्याएको छ । फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको छ ।
