काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले न्युरोडमा पार्किङ गर्नहरुले नै तीन फुटको फुटपाथ बढाउन खोज्दा विरोध गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाइहरु राख्दै उनले सडकमा सवारीसाधन राख्दा सडक साँघुरो नहुने तर फुटपाथ बनाउँदा कसरी साँघुरो हुने भन्ने प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’
सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्न उनले सबैलाई अनुरोध समेत गरेका छन् ।
‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिऊँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिऊँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिऊँ’, उनले भनेका छन् ।
विकास गर्न बदलिँदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन एकजुट हुन उनले सबैलाइृ अपिल गरेका छन् ।
