
काठमाडौं । आरोही राजेश लामाले काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन् । उनले यात्रा शुरू गरेको ५७औं दिनमा सगरमाथा आरोहण गरेका हुन् ।
गत अप्रिल १ तारिखका दिन काठमाडौंदेखि पैदलयात्रा शुरू गरेका उनले ४ सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्।
आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए।इच्छा शक्ति,धैर्यता र अठोट भए जीवनमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौंदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उनले बताए।
आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ । सानेपाबाट सगरमाथा यात्रा शुरू गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए । मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका थिए।
