
सीता पौडेल(अर्चना)
काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज बुधबार विश्व वातावरण दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसंघले १६ जुन १९७२ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेपछि विश्वभर वातावरण संरक्षणका लागि जनचेतना जगाउनु पर्ने अन्तराष्ट्रिय ऐक्यबद्धता बनेको थियो ।त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न ५ जून,१९७३ मा विश्वकमा पहिलो पटक विश्व वातावरण दिवस अन्तराष्ट्रियकरण गरिएको हो ।यसरी संयुक्त राष्ट्रसंघले आह्वान गरे अनुसार नै प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन थालियो ।
नेपालको संविधानले मौलिक हकका रुपमा वातावरण सम्बन्धी हकको व्यवस्था गरेको छ । संविधाको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूत गरिएको छ ।
यो वर्षको वातावरण दिवस भूमि बचाउसँग केन्द्रित छ। भूमि पुनःस्थापना,मरुभूमिकरण र खडेरी प्रतिरोधात्मकतामा दिवसलाई केन्द्रित गरिएको छ ।
मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता,जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गरिरहेको छ ।जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरुप लिएको छ।
प्राकृतिक स्रोतहरुको अत्यधिक दोहनका कारण पनि वातावरणमा प्रतिकूल असर परिरहेको छ ।जसका कारण वातावरणमा असामान्य असन्तुलन उत्पन्न भई वायु प्रदूषण,जैविक विविधताको नास,जलवायु परिवर्तनजस्ता सङ्कट भोग्न बाध्य हुनु परेको वास्तविकता हाम्रा सामु छर्लङ्ग छ ।
यसर्थ वातावरण संरक्षण गर्दै प्रकृति र मानवबीचको सह–अस्तित्व कायम राख्न आज नागरिक समाज,निजी क्षेत्र र सबै तहका सरकारहरू जिम्मेवार बन्न जरुरी छ ।यसका लागि वृक्षारोपण,वन जंगलको संरक्षण,नदी,ताल– तलैया पोखरी,इनारलगायत पानीका स्रोतहरूको संरक्षण गर्नु जरुरी छ ।भने,जमिनमुनिको पानीको दिगो सदुपयोग र पुनःभरणमा जोड दिनुपर्छ।
साथै प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण तथा व्यवस्थापन,विद्युतीय चुलो,विद्युतीय सवारी साधनजस्ता सामाग्रीहरुको प्रयोगले वातावरण स्वच्छ राख्न मद्धत पुग्ने हुँदा यस्ता वस्तुहरुको प्रयोगमा जोड दिनु आवश्यक छ ।
यस्तै जनजीविका र स्वस्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने हुँदा बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने देखिन्छ ।भने,खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने टड्कारो आवश्यकता समेत देखिएको छ ।
अतः अब सबै मिलेर हामीले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नु जरुरी छ ।
