मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

काठमाडौं। राष्ट्रियसभाको सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जबाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो विधेयक दर्ता गराएकी हुन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरेका थिए ।

नेपालको संविधान, २०७२ अनुसार सङ्घीय सरकारको एकल अधिकार क्षेत्रभित्र रहेको सुरक्षित छापाखाना स्थापना तथा सुरक्षण मुद्रण सामग्रीको देशभित्रै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रण केन्द्रको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा उपयुक्त कानुनी व्यवस्था गर्न तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले २०७७ असार २४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गराएका थिए ।