बालेन र प्रदीप पौडेलबीच भेटवार्ता, अलपत्र चक्रपथदेखि टुकुचा व्यवस्थापनबारे छलफल

काठमाडौं ।नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)बीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटवार्तामा कांग्रेस सांसद पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय,महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति,कार्यक्रम तथा बजेटबारे छलफल भएको बताए।

साथै चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा उनीहरुबीच छलफल भएको उनले जानकारी दिएका छन् ।

बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोवीखोला खण्ड निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको जनाइएको थियो । 

दुईबीचको भेटमा महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताहरुका बारेमा पनि छलफल भएको थियो ।भने, टुकुचा सामाखुसी खोला,धनवन्तरी खहरे खोला र क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा छलफल भएको छ ।

त्यस्तै, सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्ने विषयमा पनि उनीहरुबीच छलफल भएको जनाइएको छ ।