राष्ट्रिय ललितकला प्रदर्शनीमा तीस हजार बढीले अवलोकन गरे

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ ।

यस  अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका प्रतिष्ठानका प्राज्ञ सदस्य एवं मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएका छन् ।

‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा सातवटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएका छन् । गत फागुनदेखि सातै प्रदेशमा प्रदर्शनी गरिएको थियो । त्यसअघि सातवटै प्रदेशका कलाकृति छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।