
जमुना धमला
काठमाडौँ । मनसुन सक्रिय हुन् अझै केही दिन लाग्ने भएको छ ।यस वर्षको मनसुन प्रणाली तीन दिन छिटो गरी गत सोमबारदेखि कोशी प्रदेशबाट नेपाल भित्रिए पनि देशभर फैलिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् विनु महर्जन बताइन् ।
‘अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकाले मनसुन प्रणाली सक्रिय हुन् सकेको छैन्,’ मौसमविद महर्जन भनिन् । उनका अनुसार मनसुनी वायु बलियो भएर पश्चिमी वायुलाई धकेलेपछि मात्रै मनसुनी गतिविधि बढ्छ ।
अहिले त्यो अवस्था नरहेको उनले बताइन् । हाल देशका स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । सोही कारण मनसुन देशभर फैलिन अझै केही दिन महर्जनले बताइन् ।
विभागले यस वर्ष मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जनाएको छ ।नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मानिन्छ ।
सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्दछ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आजको काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम २१.६ र अधिकतम तापक्रम ३५.६ डिग्री सेल्सियस रहेको छ ।
