९ महिनादेखिको तलब नपाउँदा कैलालीका स्वास्थ्यकर्मी समस्यामा

कैलाली । कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन् ।

जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम नआएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा रु एक करोड १४ लाख रकम मात्रै आएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलबभत्ताका लागि ३ करोड ४२ लाख रुपैयाँ आवश्यक पर्ने बताए ।

‘आएको बजेटबाट तीन महिनाको सबै स्वास्थ्यका कर्मचारीले तलबभत्ता बुझेका थियौँ । यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत अर्थ मन्त्रालयलाई ताकेता गर्दा पनि अझै तलब आएको छैन’, उनले भने, ‘वर्षको अन्तिम महिनासम्म पनि तलब आएको छैन, कर्मचारी निकै समस्यामा रहनुभएको छ ।’

गतवर्ष पनि गाउँपालिकामा दुई महिनाका लागि कर्मचारीको तलब अपुग भएको थियो । यो रकम पछि माग गर्दा असारमा आएको थियो । आउँदो आवका लागि पनि तलबभत्ता कम आएको स्वस्थ्य शाखा चौधरी बताए ।

सङ्घीय सरकारबाट समायोजन भएर गाउँपालिकामा कार्यरत प्रमोद कठरियाले नौ महिनादेखि तलब नपाउँदा घरव्यवहार चलाउन निकै मुस्किल भएको बताए ।