
काठमाडौं । नेकपा (एमाले) ले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।
बुधवार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनका अनुसार अधिवेशन गर्न बाँकी ११ वटा जिल्लामा आगामी कात्तिकभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय भएको छ ।
अहिले भएको कमिटीलाई सङ्गठन कमिटीमा रुपान्तरण गर्ने, समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र त्यहाँभित्र सचिवालय बनाउन पाउने निर्णय भएको पनि बताएका छन् ।
उपमहासचिव ज्ञवालीले पार्टीले सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने र भूमि व्यवस्था विभागको सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिने निर्णय गरेको बताए । बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका प्रस्तावलाई अनुमोदन गरेको छ ।
