
काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ ।
बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ ।
