
काठमाडौं । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिन विषेशगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरो जस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
मौसमविद् सञ्जीव अधिकारीले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।
“रातिको समयमा वर्षा हुने सम्भावना छ तर लगातारको वर्षाको सम्भावना भने छैन”,उनले भने,“आज राति पनि देशभर साधारणतया बदली रहने छ र सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
”कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।
महाशाखाकानुसार अहिले पनि कोशी,मधेस र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
