
२२ साउन,काठमाडौं।गत साउन यता देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको हो।
सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौंमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ।यसैगरी कैलालीमा ८ जना र प्युठानमा २ जनामा हैजा संक्रमण पुष्टि भएको छ।हैजा संक्रमण हुनेमा सबैभन्दा बढी ५ देखि १४ वर्ष उमेर समुहका बालबालिका छन्।त्यसपछि १५ देखि २४ वर्षका,३५ देखि ४४ वर्षका,४५ देखि ५४ वर्षका ,५५ देखि ६४ वर्ष र १४ वर्षमुनिकामा हैजा देखिएको छ।
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन हैजाको प्रकोप नै देखिन सक्ने जोखिम देख्छन्।हालसम्म पुष्टि भएको संख्या भन्दा समुदायस्तरमा हैजाका बिरामी बढी हुनसक्ने उनको अनुमान छ।कित्सकहरुका अनुसार लक्षणविहीन संक्रमितले संक्रमण फैलाउन प्रमुख भूमिका खेल्छ ।
बिरामी शौचालय गएपछि राम्रोसँग हात नधोएर अन्य व्यक्तिलाई खानेकुरा तथा पानी दिए हैजाको संक्रमण हुन सक्छ।हैजा भिब्रियो कोलेरा प्रजातिको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखाला रोग हो।हैजा दिसाको माध्यमबाट वातावरणमा फैलिन्छ र दूषित खाना वा पानीको माध्यमबाट अर्को व्यक्तिसम्म पुग्छ । हैजामा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन्।
हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ।अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने,शरीरका माशंपेशी बाउँडिने,वान्ता हुने,थकाइ महसुस हुने आदि लक्षण देखिन्छन्।
गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्छ।यस्तै आँखा गाडिनु,मुख,जिब्रो,घाँटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुन्छ।यस्तै पिसाब पहेँलो हुनु,पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो।
हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने,शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने,दिसा र पिसाब पछि राम्रोसँग मिचीमिची साबुन पानीले हात धुने,खाना बनाउनु अघि साबुन पानीले हात धुने,पानी सधैं उमालेर खाने,काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने जस्ता सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ ।
