सिमलतालमा दुर्घटना परेको एञ्जल यातायातका यात्रुको नाममा बनाइयो स्मृति स्तम्भ

२८, साउन काठमाडौं । दुई वटा बसलाई लेदोसहितको पहिरोले बगाएको सिमलतालमा हराइरहेका यात्रुहरूको स्मृतिमा स्तम्भ बनाइएको छ ।

एञ्जल बसका चालक तथा यात्रुहरूको नामसहित दुर्घटनास्थल सिमलतालमा स्मृति स्तम्भ बनाइएको हो ।जसमा वीरगञ्जबाट काठमाडौँ जान आएका एञ्जल डिलक्स बसमा यात्रा गरेका २६ जनाको नाम उल्लेख गरिएको छ ।असार २८ गते लेदोसहित आएको पहिरोले भरतपुर २९,सिमलतामा सडकबाट दुई वटा बस एञ्जल डिलक्स र गणपति यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो ।

तर, स्तम्भमा भने एञ्जल डिलक्समा रहेका यात्रुहरूको मात्रै नाम उल्लेख गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कसले स्मृति स्तम्भ बनाएको भन्ने जानकारी नभएको बताए ।

दुवै बसमा गरी ६५ जना यात्रु रहेका थिए ।तीन जनाले भने पौडिएर ज्यान जोगाएका थिए ।बाँकी ६२ जना बससँगै हराएका थिए । उनीहरूमध्ये अहिलेसम्म १९ जनाको मात्रै शव पहिचान भएको छ।बाँकी शव तथा बसको खोजीको लागि नेपालका र भारतबाट समेत खोज तथा उद्धार टोलीले खोजी गरे पनि भेटिएको छैन ।

त्रिशूलीमा हराएका तथा मृत पहिचान भएका सबै जनालाई दुई लाख रुपियाँको दरले सरकारले राहत दिइसकेको छ ।दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सडकभन्दा माथि खनिएको ग्रामीण सडकको कारणले लेदोसहितको पहिरो आएर गाडी बगाएको मूल कारण देखाएर प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ।

पहिरोले बगाएको मध्ये एञ्जल यातायात वीरगञ्जबाट काठमाडौँ र गणपति यातायात काठमाडौँबाट गौरतर्फ जाँदै थिए ।