
५ भदौ,अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा मेयरको हस्ताक्षरसहित संचालनको नक्कली कागजपत्र बनाउने एक व्यवसायी पक्राउ परेका छन् ।
मेयर झविलाल थापाले दिएको उजुरीका आधारमा पक्राउ परेका ती व्यवसायीले वडाध्यक्षसहित ३ जनाको मिलेमतो रहेको बयान दिएको बताइएको छ।बयानपश्चात उनीहरु तीनै जना फरार भएका छन्।
भूमिकास्थान नगरपालिका–९,पातले खोलामा रहेको चुनढुंगा उत्खनन्को अनुमति पत्र नक्कली रहेको भन्दै नगरपालिका प्रमुख झविलाल थापाले नै प्रहरीमा उजुरी दिएपछि छानबिन गर्न प्रहरीले कम्पनीका प्रतिनिधि नवाफ अलीलाई पक्राउ गरेको हो।
थापा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन्।तर उनको निवेदनका आधारमा पक्राउ परेका अलीले जनमोर्चाबाटै निर्वाचित वडाध्यक्ष र अन्य २ जना जनमोर्चाकै नेतालाई औंल्याएको बताइएको छ ।
यो प्रकरणमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी,भूमिकास्थान नगरपालिका– ४ का वडाध्यक्ष बाबुराम पन्थी सुनार र जागृत केसीका नाममा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।अहिले उनिहरु तीनै जना सम्पर्कविहीन भएको बताइएको छ ।
