वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् ।

विभागले आर्थिक वर्ष २०८०–८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१–८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो ।विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०–८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो ।

तर, कार्यालयले गत आवमा मुस्किलले रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार राजस्व सङ्कलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र सङ्कलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व सङ्कलनको लक्ष्य घटाइएको हो ।