त्रिविको सुरक्षा प्रबन्ध मिलाउन शिक्षामन्त्रीको माग

५ भदै,काठमाडौं ।शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन्।

केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन्।त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको मन्त्री भट्टराईले बताएकी छिन्।

उनले लेखेकी छन्– ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाइ फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ।त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’

यता आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भएको छ।आलोचना भएपछि फेरी उनले लेखेकी छन् – ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु।

मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो,कुनै आवेगमा आएर लेखेको होइन।मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारि गराउन चाहन्छु।’

आफूले असुरक्षाको विषयमा संसदमा कुरा उठाएको र प्रधानमन्त्री,गृहमन्त्री लगायतसँग लगातार समन्व पनि गरेको मन्त्री भट्टराईले बताएकी छिन्। त्यतिले मात्र नपुग्ने देखेपछि सार्वजनिक बहस होस् भनेर जनतासँग अपिल गरेको उनले सगरमाथाप्रेसलाई बताइन्।

‘विश्वविद्यालयलाई स्वतन्त्र ढंगले चल्न नदिनु बेठिक हो ।तसर्थ यो गलत विषय सार्वजनिक बहसको विषय बनोस् भनेर मैले राखिदिएकी हुँ,’ मन्त्री भट्टराईले भनिन्, ‘थ्रेटहरु लगातार आइरहेका छन् । हामीले गर्ने कुरा पनि गरिरहेका छौं । तर ती व्यक्तिहरुबाट थ्रेट आउने कुरा रोकिएन । त्यो नरोकिएपछि सार्वजनिक अपिल गरेकी हुँ । सरकारसँग गरिएको अपिल होइन । यो, सार्वजनिक अपिल हो, आम जनतासँगको अपिल हो ।’उनले भनिन् ।