कथा वाचकका लागि १३ बुँदे आचारसंहिता प्रस्तावः वस्त्र र केस मर्यादित हुनुपर्ने

५ भदौं,काठमाडौं।धार्मिक कथा वाचनमा विकृति विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन १३ बुँदे आचारसंहिता बनाएर लागू गर्ने तयारी गरिएको छ ।

हिन्दू धर्मशास्त्रका गुरुहरुको साझा संस्था राष्ट्रिय कथाव्यास समाजले यो आचारसंहिता प्रस्ताव गरेको हो।नेपाल धार्मिक कथा वाचकको योग्यता र मापदण्डका विषयमा कुनै त्यस्तो नीतिनियम छैन।कथा वाचकको न्यूनतम औपचारिक अध्ययन कति हुनुपर्ने भन्ने पनि स्पष्ट व्यवस्था छैन।कथा वाचन गर्न औपचारिक अध्ययन दुई खाले छन्। पहिलो संस्कृतमा आचार्य (एमए)गरेकाले कथा वाचन गर्न सक्छन्।

अर्को छोटो बाटो भनेको ३ देखि ६ महिनाको प्रशिक्षण लिएर पनि कथा भन्न सकिन्छ,तर यसरी सर्टकट तरिकाले कथा वाचक बनेकाहरुलाई धार्मिक क्षेत्रमा त्यति महत्व दिइँदै।

पछिल्लो समय पर्याप्त शास्त्रीय अध्ययन र योग्यताविना जो पनि कथा वाचक बन्ने र कथा वाचनका क्रममा मनगढन्ते गफ दिने प्रवृत्ति बढेपछि समाजले तदारुकता देखाएको एक सदस्यले बताएका छन्।तीनचार दिनमै यो आचारसंहितालाई पारित गरेर सार्वजनिक गर्ने तयारी समाजले गरेको उनको भनाइ छ।

प्रस्तावित आचारसंहितामा कथा वाचनका लागि व्यासमा बस्ने वक्ताले शास्त्राध्ययन वा सम्बन्धित पुराणको अध्ययन गरेकै हुनुपर्ने अनिवार्य गरिएको छ।कथा अनुष्ठानमा बस्दा केस तथा वस्त्रादीको कुरा मर्यादित हुनुपर्ने आचारसंहितामा उल्लेख छ।

के के छन् त प्रस्तावित आचारसंहिता?

१) पुराणादि प्रवचनमा शास्त्रले निर्दिष्ट गरेका विषयमा मनगढन्ते तर्क वा खण्डन प्रस्तुत नगर्ने ।
२) आफ्नो व्यक्तिगत धार्मिक सामाजिक आर्थिक चरित्रलाई पवित्र एवं निष्कलङ्क राख्नुपर्ने ।
३) व्यक्तिगत रूपमा आयोजना हुने कार्यक्रमलाई उचित मुर्हूतमा र विधिविधानका साथ आयोजना गर्नुपर्ने ।
४) सत्सङ्गात्मक कथाको लागि मुर्हूत र विधि निषेध नहुने भएकोले सोही विधिअनुरूप कार्य गराउने ।
५ )कथामा बस्दा वक्ताले व्यासमा बस्ने नियम पूर्णतया पालना गर्नुपर्ने ।
क )शास्त्राध्ययन वा सम्बन्धित पुराणको अध्ययन गरेकै हुनुपर्ने ।
ख )कथा अनुष्ठानमा बस्दा केश वस्त्रादी कुरामा मर्यादित भएर बस्नुपर्ने ।
६ )भजनकीर्तन र झाँकीलाई मर्यादित राख्नुपर्ने ।
७) क)थालाई ठेक्का वा पैसामा तौलेर भागबन्डा गर्न नहुने ।
८ )प्रत्ये)क नेपाली कथाव्यासले राष्ट्रिय कथाव्यास समाजको अनिवार्य सदस्यता लिनुपर्ने ।
९ )सबै कथाव्यास द्वायले आफ्नो कथाबाट रु। १,१०० संस्थाको लागि अनिवार्य प्रदान गर्नुहुनेछ ।
१०) कुनै कथाव्यासले यदि गल्ती गरेको छ भने अत्यावश्यक नभएसम्म सञ्जालमा बदनामी हुनेगरी प्रचार नगर्ने, बरु व्यक्तिगत सुझाव दिएर सच्चिन वा सच्याउन )आग्रह गर्ने ।
११) एउटाव्यासलाई समस्या पर्दा अर्को कथाव्यास सहयोगी हुनुपर्ने ।
१२०) यदि कुनै कथा वाचकले कुनै प्रकारको सामान्य वा आपराधिक गल्ती गरेमा वा भएमा राष्ट्रिय कथाव्यास समाजले स्पष्टीकरण सोधेर कथामा निषेध गर्नेसम्मको कारबाही गर्न सक्नेछ ।
१३)कथामा मौन पाठ गर्न नहुने।पाठ सबैले सुनिने आवाजमा शुद्ध र प्रस्ट गर्नुपर्ने।

पण्डित कुवेर सुवेदी अध्यक्ष रहेको राष्ट्रिय व्यास समाजको दोस्रो कार्यसमिति गत असारमा गठन भएको हो।हाल यसमा ११ जना सदस्य रहेका छन्।