बन्ने भयो कलंकी–महारागञ्ज सडक,सडक विस्तार गर्न चीनसँग सम्झौता

७ भदौ, काठमाडौं ।सरकारले चक्रपथको कलंकी–महारागञ्ज खण्डको ८.२ किलोमिटर सडक विस्तार गर्न चीनसँग सम्झौता गरेको छ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो ।नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरेका थिए।

दोस्रो चरणमा कलंकीदेखि चाबहिल खण्ड विस्तारको योजना भए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि बसुन्धरा पुलसम्म मात्रै यो खण्ड विस्तार गर्ने योजना छ ।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माका अनुसार अब भने डीपीआर तयार गरेर सडक विस्तार सुरु गर्न चिनियाँ पक्षसँग सम्झौता भएको हो।आयोजना निर्माणमा साइट क्लियरेन्स गर्ने र ठेक्का लागिसकेपछि परियोजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै नेपालको हो।डीपीआर बनाउनेदेखि ठेक्का लगाउनेसम्मको जिम्मा चीनले गर्ने गरि सम्झौता भएको छ।

चक्रपथको दोस्रो खण्डको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरी निर्माण गर्न चिनियाँ पक्षसँग सम्झौता भएको सहसचिव शर्माले बताए।

 पाँच वर्षअघि २०७५ मा यस सम्बन्धी सम्झौता दुई देशबीच भए पनि हालसम्म पनि यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन।

यसअघि चक्रपथको कोटेश्वरदेखि कलंकी खण्ड  मात्रै विस्तार भइसकेको छ।