
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्नुपर्ने बताए ।“ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने ।
मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताए । उनले भने, “जनतामा छाएको निराशालाई चिर्न जरुरी छ ।”नले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेगरी कर्मचारीले काम गर्नुपर्ने बताए । उनले आयोजनाको टेण्डर प्रक्रियालाई चाँडो टुङ्याएर अगाडि बढे तोकेभन्दा चाँडो काम सम्पन्न हुने उल्लेख गरे ।
