
११ भदौ,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुले शिक्षित मूर्ख नभई सज्जन र गुणवान् मान्छे उत्पादन गर्ने खलको शिक्षा प्रदान गर्नु पर्ने आवश्यक्ता औंल्याएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने,राम्रो,विकसित,आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले भने, ‘गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ ।त्यसो भएमा चेलाहरूले गुरुहरूलाई मान्छन्। विद्यार्थीलाई शिष्ट,नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूल शिक्षा हासिल भएको मान्न सकिँदैन।’
साथै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको स्मरण गराउँदै सुदूरपश्चिमको संस्कृति र स्थानीयपन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गरे।
