मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

इलाम । दश वर्ष अघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।”

कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन् । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भने, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन ।

बरु अकबरेको व्यावसायिक खेती गर्छन् । कोदो भटिँदैन । कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ । “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ ।” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भने, “त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ ।” इलामका १० स्थानीय तहमै आंशिक रूपमा कोदो खेती हुने गरेको छ । तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताए ।

इलामका बजारमा भारतबाट आयात गरिएको कादो पाइन्छ । सूर्योदय–४ का प्रदीप गिरीले पर्यटकलाई खुवाउने कोदो पनि स्थानीय भनेर भारतबाट ल्याउनुपरेको बताए । मकरजुङका टीकाराम अधिकारीले पोहोर नौला बुझाउन गाउँभरि कोदो खोज्दा कतै नभेटेपछि यस वर्ष बारीको एकछेउमा एक मानाको बीउ रोपेका छन् । “दुई वर्ष नौलो बुझाउन पुग्ला त्यसपछि फेरि राप्नुपर्छ । यति रोप्नलाई बारी खन्ने खेताला नभेटेर बिजोग भयो । जमाना फेरिएछ अब ।” उनले भने, “रोप्ने पनि थिइन । पोहोर एक मुठी कोदो खोज्न गाउँ डुल्दा कतै नभेटेपटि यसपाली झ्वाँक चलाको ।”

कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कोदो खेती हुने गरेको छ । प्रदेशभरमा ६५ हजार तीन सय ७२ हेक्टरमा कोदो खेती हुने गरेको छ । त्यसबाट एक लाख आठ हजार तीन सय ७५ टन कोदो उत्पादन हुने गरेको छ । यो करिब रु पाँच अर्ब २० करोड २० लाख बराबरको उत्पादन हो । तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ ।