मौन स्नान गरी मनाइयो सोमबारे औँसी

१७, भदौ काठमाडौं । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ ।

भाद्र कृष्ण औँसी आज सोमबार परेको हो । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउँछन् ।

सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने तथा अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले बताए ।औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँसी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु उचित मानिन्छ ।

प्रत्येक महिनामा आउने औँसीलाई विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ । भाद्र कृष्ण औँसीका दिन आज घर घरमा वर्षभर देवकार्य एवं पितृकार्यका लागि महत्वपूर्ण मानिने कुश भित्र्याइँदै छ ।