
८, असोज, काठमाडौं । उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार दश दिने चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली बुधबार नेपाल फर्किने भएको छ । सोमबार नै नेपाल फर्किने बताइए पनि टिकट नपाउँदा भोलिमात्रै प्रर्किने सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चिन गएको थियो । तर सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणले फरक राजनीतिक घटनाक्रम बनेपछि टोली सोमबार नेपाल फर्किने योजना बनाएको थियो ।
उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए ।
सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै जीबी राई, रास्वपा सभापति रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
