दसैँको मुखमा खानेतेलको मूल्यवृद्धि

८,असोज काठमाडौं । नेपालीमा ठुलो चाडपर्व दसैँतिहार नजिकदै गर्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एक र डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो ।

यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन ।

पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ ।विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताए।

बजारमा मूल्यवृद्धि हुनेबित्तिकै कारबाही गर्न नमिल्ने भन्दै विभागका महानिर्देशक पौडेलले भन्नुुभयो, “मूल्य बढ्नासाथ कारबाही गर्ने अधिकार हामीसँग छैन । हामीहरू मूल्य बढेपछि त्यसको कारण पत्ता लगाउनेतर्फ लागेका छौँ ।” अनुगमनबाट अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए।यता उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गर्दै आएका छन् । उद्योगीहरूले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन् ।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पछिल्लो एक÷डेढ साताको बिचमा खानेतेलको मूल्य थोकमै प्रतिलिटर २० रुपियाँले बढेको जानकारी दिए । उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यही अनुसार आफूहरूले पनि वृद्धि गरेको दाबी उनले गरे ।उनका अनुसार पछिल्ला केही दिनदेखि सबैखाले खानेतेलको मूल्य प्रतिकार्टोन दुई सय रुपियाँ र प्रतिलिटरमा २० रुपियाँले बढेर बजारमा आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार खानेतेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपियाँसम्म महँगो भएको छ । खुद्रा व्यापारीका अनुसार थोक व्यापारीले प्रतिकार्टोन खानेतेलमा दुई सयदेखि तीन सय रुपियाँसम्म मूल्यवृद्धि गरेका छन् ।