शुरू भयो बडादशैँ,दशैंघर लगायत घरघरमा घटस्थापना गरि जमरा राखियो

१७ असोज,काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ।

आज हनुमानढोका दरवार स्क्वायरको दशैं घर लगायत नेपालीहरुका घरघरमा वैदिक विधिपूर्वक दियो,कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ।

नदी वा चोखो स्थलबाट बालुवा,माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको दशैँ घर र घरघरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको छ ।शुभसाइत पारेर विधिपूपर्वक जौ,मकैको जमरा छरेर दशैंको शुरुवात गरिएको हो ।

आजैदेखि नवरात्र पनि शुरु भएको छ ।नवरात्र शुरुभएसँगै दशैँ घरमा शक्तिकी देवी दुर्गाको आवाह्न गरी पूजा आरम्भ गरिएको छ।नवदुर्गाका नौ वटा स्वरुप अन्तर्गत आज शैलपुत्रीदेवीलाई सम्झेर भरे साँझ धुमधामका साथ शैलपुत्रीदेवीको पूजाआराधाना गर्ने गरिन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले जमरामा जौं अनिवार्य मानिन्छ ।आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीकासँगै प्रसादको रुपमा समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।जौंसँगै मकै र गहुँपनि छर्ने र जमराको रुपमा प्रयोग गर्ने चलन पनि छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ ।नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रहृमचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता,छैठौँ दिन कात्यायनी,सातौँ दिन कालरात्री,आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ ।महाअष्टमी र  महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर,कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गरिन्छ ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । यस वर्षको दशैंको टीका यहि असोज २६ गते शनिबार परेको छ ।

विजयादशमीका दिन÷ टीकाका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने शुभसाइत रहेको छ ।