१७ असोज,काठमाडौं ।नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
बिहिबार आयोजित एक समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरे।
नेपाल निगमका अनुसार सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको छ।
सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ।
यस्तै,अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ।
त्यस्तै लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ। ती आयोजनाको कुल लागत रु १५ अर्ब बराबर रहेको निगमले जनाएको छ।
