बडा दशैँ : आज नवरात्रिको अन्तिम दिन,महाअष्टमी र महानवमी एकैदिन

२५ असोज,काठमाडौं । आज नवरात्रिको अन्तिम दिन  बडा दशैं अन्तर्गतको महाअष्टमी र महानवमी एकैदिन मनाइँदै छ।

विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ  तर यस वर्ष तिथि घटबढका कारण अष्टमी र नवमी एकै दिन परेको छ । आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गरिदै छ । यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ ।दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस,कुखुरा,बोका,भेडा र राँगाको पञ्चबलिसहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।

आज कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा  गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानिन्छ ।

आज हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि सर्वसाधारणको लागि खुला गरिएको छ ।नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ ।

यस वर्षको दशैंको टीकाको उत्तम साइत  भोली असोज २६  गते शनिबार  बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।