महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगको निर्देशन,३ पालिका उपप्रमुखमा महिला उम्मेदवार अनिवार्य

सीता पौडेल (अर्चना) २ कात्तिक,काठमाडौं।निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन जारी गरेको छ।

आयोगको यहि असोज ३० गते बसेको बैठकले राजनीतिक दलहरुलाई यस्ता निर्देशन दिने निर्णय गरेको आयोगद्धारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष,नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको उल्लेख गरिएको छ ।

आयोगका अनुसार स्थानीय तहमा ४० पद रिक्त छन् ।१ नगरपालिका प्रमुख,१ नगरपालिका उपप्रमुख,२ गाउँपालिका अध्यक्ष,४ गाउँपालिका उपाध्यक्ष,२ जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन्।

यसैगरी २१ नगरपालिका वडाध्यक्ष र ९ गाउँपालिका वडाध्यक्षको पद पनि रिक्त छ।

 कीर्तिपुर नगरपालिका,काठमाडौं,ग्रामनाथ गाउँपालिका मोरङ,महाबु गाउँपालिका,दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ।तीनै पालिकामा उपप्रमुख महिला छन् ।त्यसैले ती वटै पालिकामा दलहरुले महिला वा पुरुष उम्मेदवार बनाउन सक्छन्।

नलगाड नगरपालिका,जाजरकोट,गौरीशंकर गाउँपालिका,दोलखा र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामा उपप्रमुखका लागि उपचुनाव हुनेछ।तीन वटै पालिकामा हाल प्रमुख पुरुष छन् ।आयोगले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिए अनुसार यी तीन पालिकामा भने अनिवार्य रुपमा महिला उम्मेदवार उठाउनुपर्ने छ।

संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सगरमाथाप्रेस डटकमलाई बताए ।

महिलालाई आरक्षण नगर्ने हो भने सबै पुरुष हुने र हिजो जितेको पद पनि गुम्नसक्ने भएकाले संविधान र निर्वाचन कानुनको सकारात्मक व्याख्या गरी महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न खोजिएको उनको भनाई छ।